Thursday, May 18, 2017

साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत ढल्केवरमा सरसफाई

बिजय कुमार सिंह
ढल्केवर, जेष्ठ ५ गते ।
धनुषाको मिथिला नगरपालिकको साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत शुक्रवार ढल्केवर चौकमा सरसफाइ गरिएको छ । ''एक घर एक चर्पी मिथिला नागरको शान, पूर्ण सरसफाई युक्त नगर हाम्रो अभियान" भन्ने मूल नाराका साथ नगरपालिकाको आयोजनामा हप्ताको प्रत्येक शुक्रवार सरसफाई गर्ने गरी गएको बैशाख २९ गते शुक्रवारबाट साप्ताहिक सरसफाई अभियान शुरू भएको हो ।
ढल्केवरमा सरसफाई तथा फोहरमैला व्यवस्थित हुननसक्दा नगरनै दुर्गन्धित बन्दै गएको थियो । नगरपालिकाले सरसफाईका साथै नगरमा भएको फोहरमैला व्यवस्थित गर्न समेत सक्रिय भएका छन् । नगरपालिकाले नगरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन गर्न थालेपछि स्थानीयवासीहरु खुशी भएका छन् । साप्ताहिक सरसफाई अभियानले नगरवासीहरुमा सकारात्मक सन्देश दिएको भन्दै स्थानीय बुद्धिजीवीहरुले खुशी व्यक्त गरेका छन् ।
नगरपालिकाले आयोजना गरेको सरसफाई कार्यक्रममा मिथिला नगरपालिकाका कर्मचारी, विनायक माविका शिक्षक एवम बिद्यार्थी, स्थानीय प्रशासन, म्यादि प्रहरी, राजनीतिकर्मी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

भारतमा काम गर्न गएका धनुषाका एक युवक वेपत्ता

जनकपुरधाम , जेठ ५ गते । 

धनुषाको एक युवक छिमेकी देश भारतमा काम गर्न गएका बेला वेपत्ता भएका छन् । धनुषाको सबैला नगरपालिका ४ बल्टियाटोल निवासी राम सागर यादबका १७ वर्षका छोरा सुनिल यादब भारतको चेन्नई मद्रासको सालिग्राम सहरमा रोजगारीको लागि गएको बेला वेपत्ता भएको परिवारजनले जनाएको छ ।
त्यहाँबाट झण्डै दश दिन देखि सुनिल वेपत्ताभएपछि घरपरिवार शोकमा डुबेका छन् । सुनिल १५ दिन अघि पहिलो पटक त्यहाँ रोजगारीका लागि गएका थिए । काम गर्ने ठाउँमा पिसाव फिरेर आउँछु भन्दे निस्केका सुनिल अहिले सम्म सम्पर्कमा नआएको परिवारजनले जनाएको छ ।
घरपरिवारले आफ्नो छोराको खोजविन गरि दिन सबैपक्षलाई सहयोगको लागि गुहार गरेका छन् । टुडे पाटी

धनुषाका सिडिओले कुटपीट गरेको भन्दै लेखापढी व्यवसायी आन्दोलित

जनकपुरधाम, जेठ ४ गते ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईले आफुहरुलाई कुटपीट एवं दुरव्यवहार गरेको लेखापढी व्यावसायीहरुले आरोप लगाएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रजिअ चपागाईले आफ्नै कार्यकक्षमा एक एक गरी बोलाएर लेखापढी व्यवासायीलाई बोलाएर १० जनालाई कुटपीट गर्दै दुरव्यवहार गरेको भन्दै उनीहरुले कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् ।

आफुहरु तोकिए बमोजिमकै दस्तुर सेवाग्राहीबाट लिएर सेवा दिएको तर प्रजिअ चपागाईले बढी दस्तुर लिने गरेको भन्दै एक एक लेखापढी व्यवासायीलाई बोलाएर तथानाम गाली गर्दै आफु स्वयम र बडीगाड लगाएर कुटपीट गरेको लेखापढी कानुन व्यवासयाी एसोसिएसन धनुषाका अध्यक्ष रामसुन्दर यादवले बताउनुभयो । प्रजिअ चपागाईले माफी नमागेसम्म आफुहरुको आन्दोलन जारी रहने उहाँले जानकारी दिनुभयो । माफी नमागे धनुषा जिल्ला लगायत देशै भरि कामकाज ठप्प गरेर कडा आन्दोलन गर्ने अध्यक्ष यादवले चेतावनी दिनुभयो ।

अध्यक्ष यादव आफु घरमा भएको बेला प्रजिअ चपागाईले फोन गरी बोलाएर आफुलाई समेत गाली वेज्जत र कुटपीट गरेको आरोप लगाउनु भयो । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु स्वयम दलाल पालेको र परिसर भित्र कालोधन्धा हुने गरेको आरोप कानुनु व्यवासायीहरुको छ । प्रजिअको बडिगार्डदेखि परिसर भित्र क्यान्टीन सञ्चालन गर्नेहरु दलाली कार्यमा संलग्न रहेको लेखापढी व्यवसायीहरुले आरोप लगाएका छन् । 

यता धनुषाका प्रजिअ अधिकारीले सेवाग्राहीबाट तोकिएको दररेट भन्दा बढी र मनोमानी ढंगले लिने गरेकाले उनीहरुलाई बोलाएर सचेत गराएको तर कुटपीट नगरेको दावी गर्नुभयो । उहाँले लेखापढी व्यवासायीलाई तोकिएको दररेट चर्ट ल्याउन भन्दा पनि नमानेको र सेवाग्राहीलाई अनहक दुःख दिने गरेकाले सचेत गराएको बताउनुभयो । आयिन्दा तोकिए बमोजिम कुनै लेखापढी व्यवासयी वा कर्मचरीले लिए कानुन बमोजिम कारबाही गर्न पछाडि नपर्ने समेत प्रजिअ चापागाईले चेतावनी दिनुभयो । टुडे पाटी

Wednesday, May 17, 2017

कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेबाट शुरु हुने

काठमाडौं, जेठ ३ गते ।

चुनावका कारण रोकिएको कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेदेखि सञ्चालन हुने भएको छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले असार ८ देखि १८ गतेसम्म परीक्षा शुरु गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।

यसअघि स्थानीय तहको चुनावका कारण असार १ गतेबाट शुरु हुने परीक्षा रोकिएको थियो । कक्षा १२ को परीक्षा भने बैशाख २२ गते नै सम्पन्न भइसकेको थियो । 

परीक्षा तालिका हेर्न यहाँ जानुहोस्

Tuesday, May 16, 2017

आइपिएलः मुम्बईलाई हराउँदै पुणे फाइनलमा

जेष्ठ ३ गते ।

राइजिङ पुणे सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै पुणेले फाइनलमा स्थान बनाएको हो ।

एक सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएकार एक सय ४२ रन मात्रै बनायो । उसका लागि पार्थिव पटेलले ५२ रनको योगदान दिएपनि हार टार्न सकेनन् । पुणेका वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पुणेले चार विकेटको क्षतिमा एक सय ६२ रन बनायो ।  

पुणेका लागि भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले २६ बलमा ४० रनको योगदान दिए । उनले ५ छक्का प्रहार गरेका थिए । उनको यो धुवाँदार प्रदर्शन टिमको जितका लागि महत्वपूर्ण बन्यो । यस्तै पुनेका लागि मनोज तिवारीले ५८ र अजिन्क्या रहानेले ५६ रनको योगदान गरे ।

संशोधनबिना संविधान स्वीकार्य हुँदैन : यादव

नेपालगन्ज, जेष्ठ २ गते ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन अघि भएको सम्झौता पुरा गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपालगञ्जमा भएको बृहत पार्टी प्रबेश सभा कार्यक्रममा बोल्दै केन्द्रीय नेता यादवले बिगतको सम्झौतालाई ध्यानमा राख्दै संबिधान संशोधन हुनुपर्ने माग गरे ।

संविधान संशोधनका लागि पटक पटक दवाव दिँएपश्चात भएको सम्झौता छिटो पुरा भएमात्रै आफुहरुको आन्दोलन रोकिने बताए । स्थानीय निर्वाचनकै कुरा गर्दै नेता यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मुस्लिमहरुको रोजा (ब्रत) परेका कारण उक्त मिति सार्नुपर्ने माग गरे ।

सभामा फोरम नेपालका बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष मोहम्मद लालबाबु राउत, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एव पूर्व मन्त्री इस्तियाक राई, केन्द्रीय सदस्य चुुडामणी रेग्मी, कामता प्रसाद सोनखर, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य तथा नवप्रबेशी फोरमका नेता सत्यनारायण बर्मा लगायत नेताले मधेशीहरु जनताहरुको असन्तुष्टिलाई सम्बोधन गरेर राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

फोरम नेपालबाट नै मधेशी जनताको हक अधिकार स्थापित हुने भएकाले कांग्रेस, एमाले लगायत बिभेद गर्ने पार्टीहरुले कहिल्यै पनि मधेशीको हितममा हुन नसक्ने जिकिर गरेका थिए । लोकतन्त्रमा सबैको सम्मान, सबैलाई अधिकार प्रदान गर्नुपर्ने भन्दै नेताहरु यस्ता कुराहरु ठुला पार्टीहरुले कार्यान्वयन ल्याउन नसकेको बताए । हुलाकी न्यूज

जनकपुरको औषधि पसलहरुमा अनुगमन , अवैध पसलेहरु भागाभाग

जनकपुरधाम , जेठ २ गते । 

जनकपुरको औषधि पसलहरुमा स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेको छ । विभागबाट आएको सात जनाको टोलीले मंगलबार अनुगमन थालेको हो । 
टोलीले अनुगमन थालेपछि अवैध रुपमा सञ्चालित औषधिपसल धमाधम बन्द गरेर पसलेहरु फरार भएका छन् । 
विना दर्ता सञ्चालित औषधि पसल र प्रतिवन्धित औषधिको विषयमा अनुगमन गरेको टोलीलेका ड्रग ईन्सपेक्टर डा.चन्देश्वर यादवले जानकारी दिएका छन् । अधिकांश विना दर्ता सञ्चालित पसलहरु बन्द गरेर सञ्चालकहरु फरार भएपछि खुलेका पसलहरुमा अनुगमन गरेको उहाँले जानकारी दिनुभयो । धनुषाको लक्ष्मनिया बजार र जनकपुरमा गरेको अनुगमणका क्रममा प्रमाणपत्र नभएका केहि पसलहरु बन्द गराएको छ । 
जनकपुरमा अधिकांश क्लिनिक , औषधि पसल , अस्पताल, मेडिकल लगायतको निजी स्वास्थ्य संस्था २० वर्ष लामो समयदेखि अवैध रुपमा सञ्चालमा रहेको छ । गएको २०७३ पुस २६ गते तत्कालिन धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको नेतृत्वमा रहेको अनुगमण टोलीले अनुगमन गरेपछि त्यसको विरोधमा औषधि व्यावसायीसंघले वैध रुपमा सञ्चालित औषधि पसल बन्द गरेर आन्दोलनमा उत्रेको थियो । औषधि व्यवासायी संघको आन्दोलन प्रभावले त्यतिबेला तत्कालिन अनुगमन टोलीका संयोजक गिरीको धनुषाबाट सरुवा भएको थियो । जसको कारण अवैध रुपमा सञ्चालित निजी स्वास्थ्य संस्थाका साञ्चालकहरुको मनोवल बढेको थियो । टुडे पाटी

Monday, May 15, 2017

बर्दिबास नगरपालिका भवन निर्माण गर्न करोडौंको जग्गा दान

आरके महतो
महोत्तरी , जेठ २ गते । 

महोत्तरीको बर्दिबास नगरपालिकाको भवन निर्माण गर्न १० जना स्थानीयवासीले करोडौंको जग्गा दान गरेका छन् । सोमवार नगरपालिकाको भवन निर्माण गर्न १० जना स्थानीयले करिव ५ करोड ५० लाख रुपैंया मूल्य पर्नेे साँढे पाँच कठ्ठा जग्गा दान गरेका छन् । नगरपालिका कार्यालयको भवन तथा कार्यालय जाने बाटोको लागि स्थानीयले प्रति कठ्ठा एक करोडमा विक्री हुने साँढे पाँच कठ्ठा जग्गा दान गरेका हुन् ।
बर्दिबासका स्थानीयवासी भवनाथ पोखरेलले १ कठ्ठ १० धुर, बर्दिबास रियल स्टेटका रमेश, कुमार, विनोद भण्डारी र गोपी पोखरेलले १ कठ्ठा गरि २ कठ्ठा १० धुर जग्गा नगरपालिकाको भवन निर्माण गर्न दान गरेका छन् । यस्तै, रामजी महतो, अर्जुन सिंह ठकुरी, शेखर र कपिल हमाल तथा लालबहादुर हमालले बर्दिबास नगरपालिकाको कार्यालय जाने १६ फिटको बाटोका लागि २ कठ्ठा जग्गा दान गरेको बर्दिबास नगरपालिकाका सूचना अधिकारी नारायण सिंह ठकुरीले बताए ।
साविकको बर्दिबास गाविसको कार्यालयमा बर्दिबास नगरपालिकाको कार्यालय संचालन गर्दै आएको र सेवाग्राहीलाई कठिनाइको सामना गर्नु परिरहेको छ । नगरपालिकालाई जग्गा प्राप्तिसंगै भवन निर्माणको लागि अब बाटो खुलेको नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । नगरपालिकाको स्वामित्वमा करिव ३५ कठ्ठा जग्गा रहेको भए पनि सो जग्गमा जाने बाटो नहुँदा नगरपालिकाले कार्यालय भवन बनाउन सकेका थिएनन् । जग्गा दाताहरुलाई नगरपालिकाले अविर लगाएर एक समारोहका बीच सम्मान गरेका छन् ।

Saturday, May 13, 2017

आज ३ वटा प्रदेशको ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदै

जनकपुरधाम, वैशाख ३१ गते । 

मुलुकमा आज २० वर्षपछि स्थानीय निर्वाचन हुँदै छ । पहिलो चरणमा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा स्थानीय तहको प्रतिनिधी चयनका लागि मतदान हुन लागेको हो । मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि छनोट गरिने छ । बीस वर्ष अघि २०५४ सालमा स्थानीय निर्वाचन भएयता स्थानीय निर्वाचन हुन सकेको थिएन ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ ।
मतदानका लागि निर्वाचन आयोगले ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
नयाँ संविधानले व्यवस्था गरे अनुरुपको ७ सय ४४ स्थानीय तह मध्ये तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वा्चित हुँदैछन् ।
जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन् । आज आईतवार बिहान ६ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचया आयोगले जनाएको छ । टुडे पाटी

Monday, May 8, 2017

पुनः आन्दोलनमा जाने राष्ट्रिय जनता पार्टीको चेतावनी

काठमाडौं, वैशाख २५ गते ।

राष्ट्रिय जनता पार्टी, नेपालले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ । संविधान संशोधन गर्ने ‘भद्र सहमति’ सरकारले तोडेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टीेले अव आन्दोलनमा जाने चेतावनी दिएको हो ।

संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार गम्भिर नभएपछि आफूहरु पनि आन्दोलनमा जाने गरी आन्तरिक छलफल सुरु गरिएको नेता अनिल झाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको बैठकमा संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाने सहमति प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेको आरोप लगाइएको छ । पार्टीले संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राख्दै आएको थियो ।

सरकारले संविधान संशोधन गर्ने संसद बैठकनै जेठ ४ गतेसम्मका लागि स्थगित गरेपछि पार्टीले सरकार संविधान संशोधन गर्न गम्भिर नरहेको निष्कर्ष निकालेको हो । यसअघि पार्टीले दोस्रो चरणको निर्वाचनमा भने सहभागी हुने निर्णय गरेको थियो । रातो पाटी

Friday, May 5, 2017

संविधान संशोधनमा पहल गर्छु : राजपालाई राष्ट्रपतिको आश्वासन

काठमाडौं, बैशाख २२ गते । 

राष्ट्रपति विद्या देवी भण्डारीले संविधान संशोधनका लागि पहल गर्ने आश्वासन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई दिएकी छिन् ।

शुक्रबार राती राजपाका नेताहरु र राष्ट्रिपति भण्डारीबीच भएको भेटघाटमा राष्ट्रपतिले संविधान संशोधनका लागि प्रमुख दलका नेताहरुलाई बोलाएर छलफल गर्ने बताएकी छिन् ।

समाचार स्रोतका अनुसार भेटघाटमा राष्ट्रपति भण्डारीले पनि संविधानमा त्रुटी रहेको स्वीकार गरेकी थिइन् । उनले भनिन्,‘संविधानमा रहेका कमीकमजोरीलाई मिलाउँदै लग्नु पर्छ तर संविधानलाई असफल हुन दिनु हुँदैन । माघ ७ गतेसम्म तीनवटै निर्वाचन नभए समस्या र्शिजना हुनेछ ।’

भेटघाटमा राजपाका नेताहरुले अहिलेको परिस्थितिमा निर्वाचनमा जान नसकिने जानकारी गराएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार राजपाले आफ्ना मागहरु सम्बोधनका लागि पहल गर्न र संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आग्रह गरेको थियो ।

प्रतिउत्तरमा राष्ट्रपति भण्डारीले आफुले संशोधनका लागि प्रमुख पार्टीका नेताहरुलाई बोलाएर छलफल गर्ने बताउँदै अहिलेको परिस्थितिलाई बुझ्न राजपाका नेताहरुलाई आग्रह गरेकी थिइन् । हुलाकी न्यूज

Tuesday, May 2, 2017

राजपा अब सरकारलाई समर्थन गर्ने तयारीमा

काठमाडौं, बैशाख १९ गते ।

मधेशकेन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारले औपचारिक रुपमा समर्थनका लागि आग्रह गरेको अवस्थामा समर्थन गर्न सकिने गरी छलफल भएको राजपाका एक नेता केशव झाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपाले सरकारलाई समर्थन दिन लागेको हो । ‘सरकारले औपचारिक रुपमा आग्रह गरेको अवस्थामा हामी सरकारलाई समर्थन गर्न तयार छौ । हामी संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन चाहन्छौ ’ झाले अन्नपूर्णसँग भन्नुभयो ।

राजपाको पार्टी एकीकरण बैठक अहिले काठमाडौमा बसिरहेको छ । निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराउने उद्देश्यले ६१ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरको माइन्युट बैठकले तयार गर्ने झाले जानकारी दिनुभयो । झाका अनुसार राजपाले बैशाख ३१ गते तीन वटा प्रदेशमा हुने निर्वाचनमा भाग लिनेछैन । संविधान संशोधन प्रक्रिया अगाडि नबढेसम्म निर्वाचनमा भाग नलिने राजपाले अडान लिदै आएको छ ।

Monday, May 1, 2017

मधेश आन्दोलनलाई ओझेलमा पार्दै उपेन्द्र यादव निर्वाचनमा सहभागी

काठमाडौं, बैशाख १९ गते। 

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदे माग पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्थानीय निकायको निर्वाचनमा सहभागी भएका छन् ।

संविधानमा मधेशी–थारु र आदिवासी जनजातिको माग सम्बोधन नभएको भन्दै पछिल्लो एक वर्षसम्म मधेशमा आन्दोलन भयो । उक्त आन्दोलनमा नेपाल सरकारले ५५ जनाभन्दा बढी मधेशीको हत्या गरेको छ । र, अहिले पनि आन्दोलन जारी रहेको दाबी गर्दै आएका उपेन्द्र यादव एकाएक निर्वाचनमा सहभागी भएका हुन् ।

संविधान पुर्नलेखनको माग गर्दै आएका उपेन्द्र यादव अहिलेकै संविधानलाई कार्यन्वयन गर्न निर्वाचनमा सहभागी हुँदैछन् । यसअघि पनि मधेशी मोर्चासहित यादवले नयाँ संविधान अनुसार प्रधानमन्त्रीको निर्वाचनमा भोट हालेका थिए । त्यसबेलादेखि तेस्रो मधेश आन्दोलन सिथिल भएको थियो ।

मधेशी मोर्चाको एक घटक भएपनि निर्वाचनमा सहभागीताका बारे मधेशी मोर्चामा निर्णय भएको छैन भने संघीय गठबन्धनमा पनि निर्वाचनमा सहभागी हुने विषयमा निर्णय भएको छैन ।

पछिल्लो पटक यादवले मधेश आन्दोलनमा रहेकोले मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्न माग राख्दै आएका थिए । प्रदेशको सीमाकंनको विरोध गर्दै आएका यादवले स्थानीय तहको पुर्णसंरचना र स्वायक्त एवं संरक्षित क्षेत्र गठन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै आएका थिए ।

फोरम नेपालका महासचिव रामसहाय यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘हामी निर्वाचनमा सहभागी हुँदैछौं । हामीले माग पनि छोडेका छैनौं । आन्दोलन पनि जारी रहनेछ । निर्वाचनमा अहिले उम्मेदबारी दर्ता मात्र गराएका छौं । पार्टीको निर्णयअनुसार नै हामी निर्वाचनमा सहभागी भएका छौं ।’ यादवले संविधान संशाृेधन र मोर्चाको माग पनि पुरा हुँदै जाने तर निर्वाचन छोड्न नमिल्ने बताए ।

‘मधेशमा यसको नकारात्मक असर पर्ला नि’ भन्ने प्रश्नमा यादवले हुलाकी न्यूजसँग भने,‘फोरम नेपाल निर्वाचनमा सहभागी हुँदैमा मधेशमा कुनै नकारात्मक असर पर्ने छैन । मधेशी मोर्चाको माग सम्बोधन हुँदै गर्छ, निर्वाचन पनि सँगै हुन्छ । हुलाकी न्यूज

सरकारबाट बाहिरियो राप्रपा

काठमाडौं,बैशाख १८ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार सरकार छोड्ने निर्णय गरेको छ। सोमबार साँझ केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर सरकार छोड्ने निर्णय गगरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी हुनुहुन्थ्यो।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअघियोगको प्रस्ताव दर्ता गरे लगत्तै राप्रपाले सरकारबार बाहिरिने निर्णय गरेको हो।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता हुनु आपत्ति जनक र दर्भाग्यपूर्ण भएको भन्दै ट्वीटरबाटै राप्रपाका अध्यक्ष थापाले आपत्ति जनाउनु भएको थियो। ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण,' थापाले ट्वीटमा भन्नु भएको थियो।

पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच गत मंसिर ६ गते एकता भएपछि कमल थापा उपप्रधानमन्त्री भएर प्रचण्ड सरकारमा सहभागी हुनुभएको थियो।

प्रधानमन्त्री प्रचण्डले थापा र राप्रपाका अर्का नेता दिलनाथ गिरीलाई मन्त्री बनाउन स्थानीय विकास मन्त्रालय सम्हाल्नु भएका माओवादी नेता हितराज पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सम्हाल्नु भएका कांग्रेस नेता जीवनबहादुर शाहीलाई हटाउनु भएको थियो।

संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै असन्तुष्टि जनाउदै गृहमन्त्री बिमलेन्द्र निधिले भने राजीनामा दिइसक्नु भएको छ । अन्नपूर्णा पोस्ट