Tuesday, May 2, 2017

राजपा अब सरकारलाई समर्थन गर्ने तयारीमा

काठमाडौं, बैशाख १९ गते ।

मधेशकेन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारले औपचारिक रुपमा समर्थनका लागि आग्रह गरेको अवस्थामा समर्थन गर्न सकिने गरी छलफल भएको राजपाका एक नेता केशव झाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपाले सरकारलाई समर्थन दिन लागेको हो । ‘सरकारले औपचारिक रुपमा आग्रह गरेको अवस्थामा हामी सरकारलाई समर्थन गर्न तयार छौ । हामी संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन चाहन्छौ ’ झाले अन्नपूर्णसँग भन्नुभयो ।

राजपाको पार्टी एकीकरण बैठक अहिले काठमाडौमा बसिरहेको छ । निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराउने उद्देश्यले ६१ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरको माइन्युट बैठकले तयार गर्ने झाले जानकारी दिनुभयो । झाका अनुसार राजपाले बैशाख ३१ गते तीन वटा प्रदेशमा हुने निर्वाचनमा भाग लिनेछैन । संविधान संशोधन प्रक्रिया अगाडि नबढेसम्म निर्वाचनमा भाग नलिने राजपाले अडान लिदै आएको छ ।