Monday, March 6, 2017

गृहमन्त्री निधिको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुर, फागुण २४ गते ।
प्रहरीको गोली लागेर सप्तरीमा चार कार्यकर्ताको मृत्यु भएपछि त्यसको बिरोधमा मधेसी मोर्चाले आहृवान गरेको मधेस बन्दले मध्य तराईको जनजीवन प्रभावित बनेको छ ।
मध्य तराईका बिभिन्न शहरमा मोर्चा कार्यकर्ताले भाटासहित जुलुस निकालेका छन् भने केहि सवारीमा पनि तोडफोड गरेका छन् । मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका आक्रोशित आन्दोलनकारी उग्र बन्दै गइरहेका छन् ।
बन्दका कारण धनुषाको जनकपुर, ढल्केवर क्षेत्रमा मोर्चा कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ भने सवारीसाधन तथा पसल बजार बन्द गरिएको छ ।
आन्दोलनकारीहरुले एमाले अध्यक्ष केपी ओलीलाई कडा कारबाही र गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन् ।
मोर्चा कार्यकर्ताले जनकपुरको पिडारी चोकमा ना.७ ख.२२६३ नम्बरको टिपरमा तोडफोड गरेका छन् । स्राेतः अनलार्इन खबर

सप्तरीमा माेर्चा कार्यकर्ताद्धारा जिप्रका घेराउ

राजविराज, फागुण २४ गते ।
सोमबार प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन जारी राखेका छन् ।
आफ्ना कार्यकर्ताको हत्याको बिरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुले गोली चलाउनेलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
आन्दोलनकारीले मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेका छन् । आफूहरुमाथि प्रहरीले दमन गरिरहँदा आयोगको टोली ओलीको भाषण सुन्न व्यस्त रहेको भन्दै उनीहरुले आयोगको जीप तोडफोड गरेका हुन् ।
एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच हिजो साँझ भएको झडपमा चार मोर्चा कार्यकर्ताको मृत्यु भएको बिरोधमा आज र भोलि मधेस बन्दको आहृवान गरिएको छ । स्राेतः अनलार्इन खबर 
 

राजविराजमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

राजविराज, फागुण २४ गते ।
राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ। मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो।
सोमबार राजविराजमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। घटनाको वास्तविकता बुझ्न आयोग मंगलबार राजविराज आएको हो। ‘गोली चल्दा मानवअधिकारकर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।आयोग अधिकारी चढेको बा ५ च ७४७३ नम्बरको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन्।
गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत आक्रमण प्रयास भएको छ। उनीहरुको अवस्था सामान्य छ। स्राेत ः नागरिक न्यूज
राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड