आरके महतो
महोत्तरी , जेठ २ गते ।
महोत्तरीको बर्दिबास नगरपालिकाको भवन निर्माण गर्न १० जना स्थानीयवासीले करोडौंको जग्गा दान गरेका छन् । सोमवार नगरपालिकाको भवन निर्माण गर्न १० जना स्थानीयले करिव ५ करोड ५० लाख रुपैंया मूल्य पर्नेे साँढे पाँच कठ्ठा जग्गा दान गरेका छन् । नगरपालिका कार्यालयको भवन तथा कार्यालय जाने बाटोको लागि स्थानीयले प्रति कठ्ठा एक करोडमा विक्री हुने साँढे पाँच कठ्ठा जग्गा दान गरेका हुन् ।
बर्दिबासका स्थानीयवासी भवनाथ पोखरेलले १ कठ्ठ १० धुर, बर्दिबास रियल स्टेटका रमेश, कुमार, विनोद भण्डारी र गोपी पोखरेलले १ कठ्ठा गरि २ कठ्ठा १० धुर जग्गा नगरपालिकाको भवन निर्माण गर्न दान गरेका छन् । यस्तै, रामजी महतो, अर्जुन सिंह ठकुरी, शेखर र कपिल हमाल तथा लालबहादुर हमालले बर्दिबास नगरपालिकाको कार्यालय जाने १६ फिटको बाटोका लागि २ कठ्ठा जग्गा दान गरेको बर्दिबास नगरपालिकाका सूचना अधिकारी नारायण सिंह ठकुरीले बताए ।
साविकको बर्दिबास गाविसको कार्यालयमा बर्दिबास नगरपालिकाको कार्यालय संचालन गर्दै आएको र सेवाग्राहीलाई कठिनाइको सामना गर्नु परिरहेको छ । नगरपालिकालाई जग्गा प्राप्तिसंगै भवन निर्माणको लागि अब बाटो खुलेको नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । नगरपालिकाको स्वामित्वमा करिव ३५ कठ्ठा जग्गा रहेको भए पनि सो जग्गमा जाने बाटो नहुँदा नगरपालिकाले कार्यालय भवन बनाउन सकेका थिएनन् । जग्गा दाताहरुलाई नगरपालिकाले अविर लगाएर एक समारोहका बीच सम्मान गरेका छन् ।