काठमाडौं, बैशाख २२ गते ।
राष्ट्रपति विद्या देवी भण्डारीले संविधान संशोधनका लागि पहल गर्ने आश्वासन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई दिएकी छिन् ।
शुक्रबार राती राजपाका नेताहरु र राष्ट्रिपति भण्डारीबीच भएको भेटघाटमा राष्ट्रपतिले संविधान संशोधनका लागि प्रमुख दलका नेताहरुलाई बोलाएर छलफल गर्ने बताएकी छिन् ।
समाचार स्रोतका अनुसार भेटघाटमा राष्ट्रपति भण्डारीले पनि संविधानमा त्रुटी रहेको स्वीकार गरेकी थिइन् । उनले भनिन्,‘संविधानमा रहेका कमीकमजोरीलाई मिलाउँदै लग्नु पर्छ तर संविधानलाई असफल हुन दिनु हुँदैन । माघ ७ गतेसम्म तीनवटै निर्वाचन नभए समस्या र्शिजना हुनेछ ।’
भेटघाटमा राजपाका नेताहरुले अहिलेको परिस्थितिमा निर्वाचनमा जान नसकिने जानकारी गराएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार राजपाले आफ्ना मागहरु सम्बोधनका लागि पहल गर्न र संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आग्रह गरेको थियो ।
प्रतिउत्तरमा राष्ट्रपति भण्डारीले आफुले संशोधनका लागि प्रमुख पार्टीका नेताहरुलाई बोलाएर छलफल गर्ने बताउँदै अहिलेको परिस्थितिलाई बुझ्न राजपाका नेताहरुलाई आग्रह गरेकी थिइन् । हुलाकी न्यूज