Saturday, April 29, 2017

राजपाको क्षेत्रिय कार्यकर्ता एकता भेला सम्पन्न

ढल्केवर, बैशाख १६ गते ।
राष्ट्रिय जनता पार्टी,नेपालको धनुषा क्षेत्र नं ७ मा क्षेत्रिय कार्यकर्ता एकता भेला सम्पन्न भएको छ । शनिवार कृषि उपज बजरको प्राङ्गणमा पार्टीका केन्द्रिय सदस्य प्रो.राजेन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।
केहि दिन अगाडि ६ ओटा मधेशवादी पार्टी मिलेर राष्ट्रिय जनता पार्टी,नेपाल बनेपछि पार्टीका कार्यकर्ताहरुमा उत्साह छाएको छ । कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी एकीकरण भएको उपलक्ष्मा एक-आपसमा खुशी आदान प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य प्रो.राजेन्द्र प्रसाद सिंह संसदमा दर्ता भएको परिमार्जन सहितको संशोधन प्रस्ताब पारित नभए देशमा कुनै किसिमको चुनाव हुन नसक्ने दाबी गरे । 
कार्यक्रममा केन्द्रिय सदस्य कुमार महतो, जगदेव महतो, भोला महतो, राम सेवक महतो, इन्दु सिंह, आशा देवी पासवान, लक्ष्मण महतो, राम शुन्दर महतो लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री थापा

भक्तपुर, १६ वैशाख ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

नेपाली काँग्रेस चाँगुनारायण नगरइकाइ समन्वय समितिले आज सरस्वतीस्थान दुवाकोटमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री थापाले संविधान कार्यान्वयनलाई सहज बनाउन तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दलको समर्थनमा पारित हुने विश्वास व्यक्त गर्दै उहाँले एमालेसँग सहमति गरेर सरकार तोकिएको मितिमा निर्वाचन गराउन लागिपरेको बताउनुभयो ।

“सरकार निरन्तर मधेसवादी र एमालेसँग छलफलमा जुटेको छ । एक÷दुई दिनभित्रै सहमति भई निर्वाचन हुन्छ,” उहाँले भन्नुभयो । पछिल्ला २५ वर्षको उपलब्धिलाई कांग्रेसले घोषणापत्रमा लिपिबद्ध गरेको र स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएमा आगामी १० वर्षमा नेपाललाई समृद्ध मुलुक बनाउने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा मात्र आर्थिक वृद्धिदर उच्च रहेको तथ्याङ्कले स्पष्ट पारेकाले मुलुकको समृद्धिका लागि कांग्रेसको विकल्प नभएको उहाँले स्पष्ट पार्नुभयो । रासस