काठमाडौँ, पुस ८ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले संविधान संशोधनबारे जानकारी गराउन देशैभरि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे अन्योल देखिएकाले गठबन्धनले काठमाडौँलगायत देशैभरि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
बिहीबार सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रस्तुत संशोधन प्रस्ताव चाँडोभन्दा चाँडो संसद्मा छलफल गराउन माग पनि गरेको छ । सत्तारूढ दलसँग भएको तीनबुँदे सम्झौता अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जन हुनुपर्ने मागसमेत बैठकले गरेको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलले सविधान संशोधनबारे दिएको अभिव्यक्तिप्रति गठबन्धनले आपत्ति जनाएको छ । राष्ट्रियताको नाममा विपक्षी दलहरूले राष्ट्रिय अखण्डताविरोधी गतिविधि गरिरहेको निष्कर्षसमेत निकालेको महासचिव झाले जानकारी गराउनुभयो । बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरूले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कमजोर भएको दाबी गर्नुभयो ।
No comments:
Post a Comment