Saturday, March 11, 2017

सप्तरी झडपमा मृत्यु भएका पाँचैजनाको शवयात्रा

राजविराज, फागुण २८ गते ।
प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ ।
राजविराजको गजेन्द्र चोकमा मृतक पाँचजनाको पार्थिव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिनुभएको थियो ।
जिल्लाको मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो, मलेठ–४ का पीताम्बर मण्डल, प्रशवनी गाविस टेङ्रीका आनन्द साह र जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो ।
राजविराजको गजेन्द्र चोकबाट हजारौँ जनसमुदायको सहभागितामा निकालिएको शवयात्रा हनुमाननगर सडकखण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमाननगर, भारदह हँुदै बरमझिया, कञ्चनपुर, रुपनी, कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा भएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
लहानमा पुगेर श्रद्धाञ्जलि कार्यक्रमपछि लहानबाट पुनः कदमहा हुँदै कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रापछि मृतकका परिवारलाई जिम्मा दिई दाहसंस्कार गरिने मोर्चाले जनाएको छ ।
आज बिहानैदेखि गरिने भनिएको शवयात्रा वर्षाका कारण केहीबेरका लागि शवयात्रा रोकिएको थियो ।
नेकपा (एमाले)कोे मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा गत सोमबार आमसभा भएपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर पाँचजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो ।
सो क्रममा एकजनाको घटनास्थलमै र चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस

Wednesday, March 8, 2017

सप्तरी गाेलीकाण्डमा मारिएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं, फागुण २५ गते ।
सरकारले सप्तरी गाेली काण्डमा मारिएकाहरुको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सप्तरी घटनाको समिक्षा गरेको छ ।  बैठकले सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ ।
बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न सर्वोच्चका पूर्व न्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सदस्यहरूको नाम प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तय गर्नेछ र, यस्तो आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।
बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।

सप्तरी घटनाको विरोधमा अपांङ्ग यादव आमरण अनसनमा

रंजन भण्डारी महोत्तरी, फागुण २५ गते ।
अपांङ्ग संघ महोत्तरीका जिल्ला अध्यक्ष विजय कुमार यादव महोत्तरीको रामगोपालपुरमा अामरण अनसनमा वसेका छन । सप्तरीमा प्रहरीको गालीलागि टाउको नै फुटेको विभत्स फोटो फेसवुकमा देखेर उनी वेहोस भए र होसमा आउना साथ अनसनमा वसे ।
दोषीलाई कार्यवाही गर, अपांङ्गता भएका व्यक्तिको ऐन कानुन लागु गर भन्ने मांगका साथ उनी अनसनमा वसेका हुन । संघिय समाजवादी फोरम नेपालका कृयाशिल सदस्य समेत रहेका उनी प्रहरीले विभत्स तरिकाले मधेशीको टाउको र छातीमा गोली हान्ने गरेकोमा यस्ता कृयाकलाप तुरुन्त बन्द गर्नु पर्ने बताउछन । उनी भन्छन समाज र देशको सेवाको लागि समर्पित हुनु पर्ने प्रहरी पार्टी र अनुहारको आधारमा गोली चलाउनु कहासम्म उचित छ त । रामगोपालपुर ९ विशम्भरपुर घर भएका उनको दाहिने खुटटामा पोलियो लागेपछि घुटामा हात टेकेर चल्छन । सानो दुरीसम्म साईकल समेत चलाउन भ्याउने उनी विगत दुई दिन देखि अनसनमा वसेका हुन । उनी भन्छन कि त सप्तरी घटनाका दोषीहरुलाई कार्यवाही हुन्छ कि मेरो लास उठछ । उनको समर्थनमा रामगोपालपुरका स्थानिय राजनितिकर्मी,भद्र भलादमी,र अपांङ्गता भएका व्यक्तिहरु सयौको संख्यामा उनी अनसन वसेको स्थलमा उनको समर्थनमा वसेका छन । यता सुरक्षाकर्मीहरुले वेला वेलामा आएर सन्चो विसन्चो सोध्ने गरेका छन ।
यता मंगलवार देखि नै सप्तरी घटनाको विरोधमा आव्हान भएको दुई दिने मधेश बन्द आज पनि जारी छ । जिल्ला सदरमुकाम जलेश्वर,रामगोपालपुर,औरही,सम्सी र पिपरामा समेत पसलहरु बन्द छ भने मोटरसाईकल वाहेकका सवारी साधन चल्न पाएको छैन । महोत्तरीकाे सदरमुकाम जलेश्वर र बर्दिवास दुई धारमा वस्ने गरेपनि सप्तरीको घटनालाई लिएर बर्दिवासमा केहि स्थान बन्द देखिएको छ । रा.म.स.पा.को अनुरोधमा बर्दिवासमा छिटफुट पसलहरु बन्द गरिएको स्थानिय संचारकर्मी विक्रम रौनियारले जनाएका छन ।