Thursday, January 5, 2017

धनुषामा एक युवक दश दिनदेखि बेपता

ढल्केवर, पुस २२ गते ।
धनुषामा एक युवक दश दिनदेखि बेपता भएका छन् । मिथिला नगरपालिका-२ नक्टाझिजका १८ बर्षिय इन्द्र कुमार महताे बिगत दश दिनदेखि सम्पर्कविहिन भएकाे पिडित परिवारजनले जनाएकाे छ ।
घरपरिवार पाल्दै अाएका छाेरा बेपता भएपछि महताे परिवारमा अहिले रूवावासी चलेकाे छ । इन्द्रकुमारलार्इ उनकै अाफ्नै केहि साथीले बेपता बनाएकाे परिवारजनकाे अाराेप छ । परिवारका अनुसार यहि पुस ११ गते साँझ अाफ्नै छिमेकी तथा नक्टाझिज-६ का नरेश कुमार यादवले माेवार्इलमा फाेन गरी स्थानिय विश्वकर्मा चाैकमा इन्द्रकुमारलार्इ बाेलाएका थिए । काका रघु महताेकाे घरमा रहेका इन्द्रकुमारले नरेशले अाफुलार्इ बाेलाएकाे काका-काकीलार्इ सुनाएर उनी चाैकतिर लागेका थिए । परिवारजनले इन्द्रकाे खाेजीदिन र्इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएकाे बुवा भगलु महताेले बताए ।
यता, र्इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी सहायक निरिक्षक चन्द्र त्रिपाठीले अाराेपित नरेश कुमार यादव फरार रहेका बताए । पीडित परिवारजनले र्इन्द्रलार्इ नरेश र उनका साथीहरूले माेटरसार्इकलमा राखेर ढल्केवरतिर लगेकाे र निर्घात कुटपिट गरेर अपहरण गरी बेपता पारेकाे दाबी गर्दै अाएकाे छ । स्राेतः द पब्लिक टुडे

Tuesday, January 3, 2017

संविधान संशोधन प्रस्ताव मान्य छैन, सदनमा फेल हुन्छः अध्यक्ष यादव

काठमाडौं, २० पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले संसदको अबरोध फिर्ता गरे पनि संविधान संशोधनको प्रस्तावलाई आफूहरूले स्वीकार नगर्ने चेतावनी दिएका छन् ।
एमालेको अबरोधका कारण संशोधन प्रस्ताव अगाडि बढ्न सकेको थिएन । सर्वोच्च अदालतको आदेशसँगै एमालेले सदनको अबरोध खुला गर्न लचिलो भएको अर्को दिन संघीय फोरमका अध्यक्ष यादवले संशोधन प्रस्ताव अस्वीकार गरिदिएको बताए ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले भने, ‘सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई यथाअवस्था स्वीकार गर्न सकिँदैन । परिमार्जन गरेर ल्याउनु पर्छ । होइन भने त्यसको जिम्मेवारी कांग्रेस र कम्युनिष्टहरूले लिनुपर्छ ।’
उनले मधेसीहरूलाई धोका दिन संशोधन प्रस्ताव ल्याएको दाबी गरे । ‘यसलाई मान्दैनौँ । प्रस्ताव अलपत्र पर्छ’, उनले भने, ‘परिमार्जनसहित आएन भने संविधान संशोधन प्रस्तावलाई समर्थन छैन । त्यसको जिम्मेवारी शेरबहादुर देउवाले लिन्छन् ।’
अध्यक्ष यादवले संशोधन प्रस्ताव पारित गराउने जिम्मेवारी र दायित्व आफूहरूको नरहेको बताए । ‘यसलाई पारित गराउने जिम्मेवारी हाम्रो होइन । कांग्रेस र माओवादीले बुझ्नु पर्छ । नेपाली जनताले यो संविधान स्वीकारेकै छैन’, उनले भने ।
संविधान संशोधन प्रस्ताव सहज रुपमा अगाडि बढ्ने विषयमा आफू विश्वस्त नरहेको अध्यक्ष यादवको भनाइ थियो ।

ढोल पिपही बाजा बजाएर मधेशबाट एमालेलाई विदाई गरौंः अध्यक्ष महतो

राजविराज, पुस २० गते ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले मधेश विरोध भएको भन्दै गाउँगाउँमा ढोल पिपही बाजा बजाएर विदाई गर्नुपर्ने बताएका छन् ।सप्तरी सदरमुकाम राजविराजमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । एमाले संविधान संशोधनको विरोधमा उभिएर कट्टर मधेश विरोधी चरित्र प्रदर्शन गरेको बताउँदै नेता महतोले भने ‘ नेकपा एमाले मधेश विरोध भएको कुरा प्रमाणित भईसकेको छ, यस्तो अवस्थामा मधेशबाट एमालेलाई मत दिने मधेशी जनताले गाउँगाउँमा ढोल पिपही बाजा बजाएर विदाई गर्नु जरुरी छ ।’
एमालेलाई मधेश र मधेशी जनताको हक अधिकार पाउनुपर्ने सवालमा विपक्षमा उभिएको बताउँदै आम मधेशी जनताले बुझ्नुपर्ने बेला आएको उनले प्रष्ट्याए । एमालेलाई मधेश र मधेशी जनता चाहिएको छैन भने मधेश र मधेशी जनतालाई किन चाहियो एमाले भनी प्रश्न गर्दै अध्यक्ष महतोले भने ‘मधेशमा एमालेको औपचारिक विदाई हुन थालेपछि यो खबर एमालेको कानमा पुगेपछि दिमाग ठेकानमा आउँछ ।’
पत्रकार सम्मेलनमा अधिकांश समयमा एमालेकै आलोचनामा खर्चिएका अध्यक्ष महतोले मधेशबाट मत पाउने एमाले, माओवादी र कांग्रेस समेत मधेशी जनताको मतको अपमान गरेको बताए । ‘मधेशबाट निर्वा्चित सांसदहरुले संविधानमा हस्ताक्षर नगरेको भए कुनै पनि हालतमा मधेश विरोधी संविधान जारी हुने थिएन’ उनले भने ‘हामीले मधेश विरोधी चरित्र देखाउने पार्टीको विषयमा मधेशी जनतालाई भन्दैछौं, अब जनताले पनि एमालेमुक्त मधेश अभियान नै चलाएर विदाई गरिदिनुपर्छ ।’