सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले मधेश विरोध भएको भन्दै गाउँगाउँमा ढोल पिपही बाजा बजाएर विदाई गर्नुपर्ने बताएका छन् ।सप्तरी सदरमुकाम राजविराजमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । एमाले संविधान संशोधनको विरोधमा उभिएर कट्टर मधेश विरोधी चरित्र प्रदर्शन गरेको बताउँदै नेता महतोले भने ‘ नेकपा एमाले मधेश विरोध भएको कुरा प्रमाणित भईसकेको छ, यस्तो अवस्थामा मधेशबाट एमालेलाई मत दिने मधेशी जनताले गाउँगाउँमा ढोल पिपही बाजा बजाएर विदाई गर्नु जरुरी छ ।’

एमालेलाई मधेश र मधेशी जनताको हक अधिकार पाउनुपर्ने सवालमा विपक्षमा उभिएको बताउँदै आम मधेशी जनताले बुझ्नुपर्ने बेला आएको उनले प्रष्ट्याए । एमालेलाई मधेश र मधेशी जनता चाहिएको छैन भने मधेश र मधेशी जनतालाई किन चाहियो एमाले भनी प्रश्न गर्दै अध्यक्ष महतोले भने ‘मधेशमा एमालेको औपचारिक विदाई हुन थालेपछि यो खबर एमालेको कानमा पुगेपछि दिमाग ठेकानमा आउँछ ।’
पत्रकार सम्मेलनमा अधिकांश समयमा एमालेकै आलोचनामा खर्चिएका अध्यक्ष महतोले मधेशबाट मत पाउने एमाले, माओवादी र कांग्रेस समेत मधेशी जनताको मतको अपमान गरेको बताए । ‘मधेशबाट निर्वा्चित सांसदहरुले संविधानमा हस्ताक्षर नगरेको भए कुनै पनि हालतमा मधेश विरोधी संविधान जारी हुने थिएन’ उनले भने ‘हामीले मधेश विरोधी चरित्र देखाउने पार्टीको विषयमा मधेशी जनतालाई भन्दैछौं, अब जनताले पनि एमालेमुक्त मधेश अभियान नै चलाएर विदाई गरिदिनुपर्छ ।’
No comments:
Post a Comment