Saturday, April 29, 2017

एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री थापा

भक्तपुर, १६ वैशाख ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

नेपाली काँग्रेस चाँगुनारायण नगरइकाइ समन्वय समितिले आज सरस्वतीस्थान दुवाकोटमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री थापाले संविधान कार्यान्वयनलाई सहज बनाउन तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दलको समर्थनमा पारित हुने विश्वास व्यक्त गर्दै उहाँले एमालेसँग सहमति गरेर सरकार तोकिएको मितिमा निर्वाचन गराउन लागिपरेको बताउनुभयो ।

“सरकार निरन्तर मधेसवादी र एमालेसँग छलफलमा जुटेको छ । एक÷दुई दिनभित्रै सहमति भई निर्वाचन हुन्छ,” उहाँले भन्नुभयो । पछिल्ला २५ वर्षको उपलब्धिलाई कांग्रेसले घोषणापत्रमा लिपिबद्ध गरेको र स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएमा आगामी १० वर्षमा नेपाललाई समृद्ध मुलुक बनाउने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा मात्र आर्थिक वृद्धिदर उच्च रहेको तथ्याङ्कले स्पष्ट पारेकाले मुलुकको समृद्धिका लागि कांग्रेसको विकल्प नभएको उहाँले स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment