मधेस, पहाड र हिमालको बीचमा अविश्वास पैदा गर्ने काम एमालेले गरेको नेपाली कांग्रेसका शीर्ष नेताहरुले आरोप लगाएका छन् । नेकपा एमालेले राजनीतिक निकाससमेत रोकेको उनीहरुले आरोप लगाए ।
पार्टीका जिल्ला कोषाध्यक्षहरुको सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘मधेस, पहाड, हिमालको बीचमा झगडा गराउने, अविश्वास पैदा गर्ने कामले अन्ततगत्वा देशमै धेरै ठूलो बिभाजन खडा हुन्छ । राष्ट्रमै धेरै ठूलो अविश्वास पैदा हुन्छ । त्यो काम एमालेबाट भइरहेको छ ।’
संशोधन प्रस्तावमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली स्वयमले हस्ताक्षर गरेको भन्दै उनले भने, ‘यति गर्दा मधेसमा शान्ति हुन्छ, भने हाम्रोलागि राम्रो कुरा यही हो ।’
संसद अवरोध गरेर एमालेले मुलुकलाई निकास दिन नचाहेको र लोकतन्त्रको उपहास गरेको देउवाले आरोप लगाए ।
कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले उदार बनेर सहमतिमा आउन एमालेलाई आग्रह गरे । संविधान जारी गर्ने समयमा एक भएका कांग्रेस, एमाले र माओवादीले कार्यान्वयनमा पनि एक हुनुपर्ने पौडेलले बताए ।
‘ठूला पार्टीहरु जसले यो संविधान जारी गरेका छन् । यीनीहरुले उदारता देखाउन जरुरी छ, लचकता देखाउन जरुरी छ,’ नेता पौडेलले भने, ‘एमाले यो सविधानको दाबेदार आफूलाई ठान्छ भने यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि हो नि ।’
उनले संविधान कार्यान्वयनमा दलहरुबीच देखिएको बिश्वासको संकटले समुदायहरु पनि विभाजित हुन थालेको उनले टिप्पणी गरे ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले तीन तहको निर्वाचन गर्नका लागि दलहरुबीच एकता अपरिहार्य रहेको भन्दै सहमतिमा आउन एमालेलाई आग्रह गरे ।
No comments:
Post a Comment