Monday, March 13, 2017

केन्या विरूद्ध नेपालको शानदार जित

काठमाडौं, फागुण ३० गते ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । 
केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर आउट भए । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए । सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए । 
टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा सबै विकेट जाँदा एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।  
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ । 
शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ ।

Saturday, March 11, 2017

सप्तरी झडपमा मृत्यु भएका पाँचैजनाको शवयात्रा

राजविराज, फागुण २८ गते ।
प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ ।
राजविराजको गजेन्द्र चोकमा मृतक पाँचजनाको पार्थिव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिनुभएको थियो ।
जिल्लाको मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो, मलेठ–४ का पीताम्बर मण्डल, प्रशवनी गाविस टेङ्रीका आनन्द साह र जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो ।
राजविराजको गजेन्द्र चोकबाट हजारौँ जनसमुदायको सहभागितामा निकालिएको शवयात्रा हनुमाननगर सडकखण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमाननगर, भारदह हँुदै बरमझिया, कञ्चनपुर, रुपनी, कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा भएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
लहानमा पुगेर श्रद्धाञ्जलि कार्यक्रमपछि लहानबाट पुनः कदमहा हुँदै कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रापछि मृतकका परिवारलाई जिम्मा दिई दाहसंस्कार गरिने मोर्चाले जनाएको छ ।
आज बिहानैदेखि गरिने भनिएको शवयात्रा वर्षाका कारण केहीबेरका लागि शवयात्रा रोकिएको थियो ।
नेकपा (एमाले)कोे मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा गत सोमबार आमसभा भएपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर पाँचजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो ।
सो क्रममा एकजनाको घटनास्थलमै र चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस

Wednesday, March 8, 2017

सप्तरी गाेलीकाण्डमा मारिएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं, फागुण २५ गते ।
सरकारले सप्तरी गाेली काण्डमा मारिएकाहरुको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सप्तरी घटनाको समिक्षा गरेको छ ।  बैठकले सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ ।
बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न सर्वोच्चका पूर्व न्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सदस्यहरूको नाम प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तय गर्नेछ र, यस्तो आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।
बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।