Saturday, May 13, 2017

आज ३ वटा प्रदेशको ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदै

जनकपुरधाम, वैशाख ३१ गते । 

मुलुकमा आज २० वर्षपछि स्थानीय निर्वाचन हुँदै छ । पहिलो चरणमा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा स्थानीय तहको प्रतिनिधी चयनका लागि मतदान हुन लागेको हो । मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि छनोट गरिने छ । बीस वर्ष अघि २०५४ सालमा स्थानीय निर्वाचन भएयता स्थानीय निर्वाचन हुन सकेको थिएन ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ ।
मतदानका लागि निर्वाचन आयोगले ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
नयाँ संविधानले व्यवस्था गरे अनुरुपको ७ सय ४४ स्थानीय तह मध्ये तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वा्चित हुँदैछन् ।
जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन् । आज आईतवार बिहान ६ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचया आयोगले जनाएको छ । टुडे पाटी

Monday, May 8, 2017

पुनः आन्दोलनमा जाने राष्ट्रिय जनता पार्टीको चेतावनी

काठमाडौं, वैशाख २५ गते ।

राष्ट्रिय जनता पार्टी, नेपालले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ । संविधान संशोधन गर्ने ‘भद्र सहमति’ सरकारले तोडेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टीेले अव आन्दोलनमा जाने चेतावनी दिएको हो ।

संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार गम्भिर नभएपछि आफूहरु पनि आन्दोलनमा जाने गरी आन्तरिक छलफल सुरु गरिएको नेता अनिल झाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको बैठकमा संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाने सहमति प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेको आरोप लगाइएको छ । पार्टीले संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राख्दै आएको थियो ।

सरकारले संविधान संशोधन गर्ने संसद बैठकनै जेठ ४ गतेसम्मका लागि स्थगित गरेपछि पार्टीले सरकार संविधान संशोधन गर्न गम्भिर नरहेको निष्कर्ष निकालेको हो । यसअघि पार्टीले दोस्रो चरणको निर्वाचनमा भने सहभागी हुने निर्णय गरेको थियो । रातो पाटी

Friday, May 5, 2017

संविधान संशोधनमा पहल गर्छु : राजपालाई राष्ट्रपतिको आश्वासन

काठमाडौं, बैशाख २२ गते । 

राष्ट्रपति विद्या देवी भण्डारीले संविधान संशोधनका लागि पहल गर्ने आश्वासन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई दिएकी छिन् ।

शुक्रबार राती राजपाका नेताहरु र राष्ट्रिपति भण्डारीबीच भएको भेटघाटमा राष्ट्रपतिले संविधान संशोधनका लागि प्रमुख दलका नेताहरुलाई बोलाएर छलफल गर्ने बताएकी छिन् ।

समाचार स्रोतका अनुसार भेटघाटमा राष्ट्रपति भण्डारीले पनि संविधानमा त्रुटी रहेको स्वीकार गरेकी थिइन् । उनले भनिन्,‘संविधानमा रहेका कमीकमजोरीलाई मिलाउँदै लग्नु पर्छ तर संविधानलाई असफल हुन दिनु हुँदैन । माघ ७ गतेसम्म तीनवटै निर्वाचन नभए समस्या र्शिजना हुनेछ ।’

भेटघाटमा राजपाका नेताहरुले अहिलेको परिस्थितिमा निर्वाचनमा जान नसकिने जानकारी गराएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार राजपाले आफ्ना मागहरु सम्बोधनका लागि पहल गर्न र संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आग्रह गरेको थियो ।

प्रतिउत्तरमा राष्ट्रपति भण्डारीले आफुले संशोधनका लागि प्रमुख पार्टीका नेताहरुलाई बोलाएर छलफल गर्ने बताउँदै अहिलेको परिस्थितिलाई बुझ्न राजपाका नेताहरुलाई आग्रह गरेकी थिइन् । हुलाकी न्यूज