Monday, May 8, 2017

पुनः आन्दोलनमा जाने राष्ट्रिय जनता पार्टीको चेतावनी

काठमाडौं, वैशाख २५ गते ।

राष्ट्रिय जनता पार्टी, नेपालले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ । संविधान संशोधन गर्ने ‘भद्र सहमति’ सरकारले तोडेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टीेले अव आन्दोलनमा जाने चेतावनी दिएको हो ।

संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार गम्भिर नभएपछि आफूहरु पनि आन्दोलनमा जाने गरी आन्तरिक छलफल सुरु गरिएको नेता अनिल झाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको बैठकमा संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाने सहमति प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेको आरोप लगाइएको छ । पार्टीले संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राख्दै आएको थियो ।

सरकारले संविधान संशोधन गर्ने संसद बैठकनै जेठ ४ गतेसम्मका लागि स्थगित गरेपछि पार्टीले सरकार संविधान संशोधन गर्न गम्भिर नरहेको निष्कर्ष निकालेको हो । यसअघि पार्टीले दोस्रो चरणको निर्वाचनमा भने सहभागी हुने निर्णय गरेको थियो । रातो पाटी

Friday, May 5, 2017

संविधान संशोधनमा पहल गर्छु : राजपालाई राष्ट्रपतिको आश्वासन

काठमाडौं, बैशाख २२ गते । 

राष्ट्रपति विद्या देवी भण्डारीले संविधान संशोधनका लागि पहल गर्ने आश्वासन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई दिएकी छिन् ।

शुक्रबार राती राजपाका नेताहरु र राष्ट्रिपति भण्डारीबीच भएको भेटघाटमा राष्ट्रपतिले संविधान संशोधनका लागि प्रमुख दलका नेताहरुलाई बोलाएर छलफल गर्ने बताएकी छिन् ।

समाचार स्रोतका अनुसार भेटघाटमा राष्ट्रपति भण्डारीले पनि संविधानमा त्रुटी रहेको स्वीकार गरेकी थिइन् । उनले भनिन्,‘संविधानमा रहेका कमीकमजोरीलाई मिलाउँदै लग्नु पर्छ तर संविधानलाई असफल हुन दिनु हुँदैन । माघ ७ गतेसम्म तीनवटै निर्वाचन नभए समस्या र्शिजना हुनेछ ।’

भेटघाटमा राजपाका नेताहरुले अहिलेको परिस्थितिमा निर्वाचनमा जान नसकिने जानकारी गराएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार राजपाले आफ्ना मागहरु सम्बोधनका लागि पहल गर्न र संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आग्रह गरेको थियो ।

प्रतिउत्तरमा राष्ट्रपति भण्डारीले आफुले संशोधनका लागि प्रमुख पार्टीका नेताहरुलाई बोलाएर छलफल गर्ने बताउँदै अहिलेको परिस्थितिलाई बुझ्न राजपाका नेताहरुलाई आग्रह गरेकी थिइन् । हुलाकी न्यूज

Tuesday, May 2, 2017

राजपा अब सरकारलाई समर्थन गर्ने तयारीमा

काठमाडौं, बैशाख १९ गते ।

मधेशकेन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारले औपचारिक रुपमा समर्थनका लागि आग्रह गरेको अवस्थामा समर्थन गर्न सकिने गरी छलफल भएको राजपाका एक नेता केशव झाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपाले सरकारलाई समर्थन दिन लागेको हो । ‘सरकारले औपचारिक रुपमा आग्रह गरेको अवस्थामा हामी सरकारलाई समर्थन गर्न तयार छौ । हामी संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन चाहन्छौ ’ झाले अन्नपूर्णसँग भन्नुभयो ।

राजपाको पार्टी एकीकरण बैठक अहिले काठमाडौमा बसिरहेको छ । निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराउने उद्देश्यले ६१ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरको माइन्युट बैठकले तयार गर्ने झाले जानकारी दिनुभयो । झाका अनुसार राजपाले बैशाख ३१ गते तीन वटा प्रदेशमा हुने निर्वाचनमा भाग लिनेछैन । संविधान संशोधन प्रक्रिया अगाडि नबढेसम्म निर्वाचनमा भाग नलिने राजपाले अडान लिदै आएको छ ।