Friday, February 17, 2017

अाज ६७ अाैँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ,  फागुन ७ गते ।
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । रासस
No automatic alt text available.

Thursday, February 16, 2017

संशोधन नभए कुनै पनि हालतमा चुनाव हुन दिन्नौं : मधेशी मोर्चा

काठमाडौं, ६ फाल्गुण । सरकारले एकातिर स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ भने अर्कोतिर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । मोर्चाका नेताहरुले प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको तीनबुँदे सहमतिअनुसार अविलम्ब संविधान संशोधन गरी संविधानका त्रुटिहरु सच्याउनुपर्ने अडानमा अहिले पनि अडिग नै छन् । 

मधेशी मोर्चासँग फेरि राजनीतिक बेइमानी हुने आशंका व्यक्त गर्दै मोर्चाका एक नेताले भने, ‘हाम्रो माग सम्बोधन नगरेर निर्वाचन हुन्छ भन्नु दिवास्वप्न मात्र हो ।’ ती नेताका अनुसार मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा जानेछ । मधेशी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पास भएपछि मात्र चुनावमा जान सकिने बताउँदै आएको छ । 

Tuesday, February 14, 2017

एनसेलले ल्यायो फेसबुक फ्रि अफर

फाल्गुण ३ गते ।
निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा आज रातिदेखि फेसबुक निःशुल्क चल्ने भएको छ । एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।
एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ । साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ । एनसेलले हाल निःशुल्क ट्विटर अफर पनि दिएको छ ।