Friday, September 8, 2017

लोक सेवा आयोगको विज्ञापन नरोक्न सरकारलाई संसदको राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं, भाद्र २३ गते  । 

कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले लिने विज्ञापन नरोकिने भएको छ । यसअघि संघीयतामा कर्मचारी व्यवस्थापन नभएसम्म पदपूर्ति रोक्ने भनिएको थियो ।


तर शुक्रबार संसदको राज्य व्यवस्था समितिले पदपूर्ति नरोक्न सरकारलाई निर्देशन दिएको छ । यसअघि समितिले नै कर्मचारी समायोजन विधेयकमा भएको व्यवस्था अनुसार पदपूर्ति रोक्न भनेको थियो ।
सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकमा एक वर्षसम्म नयाँ कर्मचारी भर्ना नगर्ने र अहिलेकै कर्मचारी जनशक्तिले काम चलाउने उल्लेख थियो । एक वर्षसम्म पदपूर्ति रोकिँदा बेरोजगारीको संख्या बढ्ने र सक्षम जनशक्ति विदेश पलायन हुने भन्दै विधेयक सच्याउन दबाव परेको थियो । व्यापक आलोचना भएपछि राज्य व्यवस्था समितिले आफ्नो पुरानो निर्देशन सच्याएको हो ।
समितिका सभापति दिलबहादुर घर्तीले कर्मचारी भर्ना नरोक्न लोक सेवालाई निर्देशन दिएको जानकारी दिए ।
यसअघि पदपूर्ति गर्ने कि नगर्ने भन्ने अन्यौल कायमै रहेको बेला लोक सेवा आयोगले विज्ञापन तालिका सार्वजनिक गर्दा आलोचना भएको थियो ।
लोक सेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मी विलास कोइरालाले पदपूर्तिको विज्ञापन नरोक्ने निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘एक वर्षसम्म पदपूर्ति रोकेको भए लोक सेवा आयोगलाई निलम्बन गरेजस्तै हुनेथियो । नियमित काम रोक्नु प्रजातान्त्रिक प्रणाली अनुकुल पनि हुने थिएन,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘संसद र सांसदहरुले पदपूर्ति नरोक्ने भनेर वुद्धिमानी निर्णय गर्नुभयो । यो स्वागतयोग्य छ ।’
राज्यव्यवस्था समितिले कर्मचारी पदपूर्ति रोक्ने कि नरोक्ने भन्ने विषयमा बुधबार र शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीसँग पनि छलफल गरेको थियो । मैनालीले हरेक वर्ष १० लाख परीक्षार्थीले लोक सेवा आयोगको परीक्षा तयारी गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै पदपूर्ति रोकिएमा तिनीहरुको भविष्य अन्योलमा पर्ने तर्क गरेका थिए । पदपूर्ति रोकिँदा लोक सेवा परीक्षाको तयारी गरिरहेकाहरु निराश बन्ने र विदेश पलायन हुनसक्ने मैनालीको भनाइ थियो ।
उनले कर्मचारी समायोजन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिए । कर्मचारी समायोजक विधेयक गत असार अन्तिम साता संसदमा पेश भएको थियो ।-अनलाईन खबर

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, मेक्सिकोमा सुनामीको चेतावनी

काठमाडौं,  भाद्र २३ गते । 

मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । कम्पन ७० किलोमिटर तलबाट भएको थियो ।

मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको रोडमा भागाभाग भएको थियो । भूकम्पको धक्का करीव १ मिनेटसम्म महशुस गरिएको थियो ।

राजधानीका केहि स्थानमा बिद्युत अवरुद्ध भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् ।

८.
१ म्याग्निच्युडकै भूकम्प भएको पुष्टि भयो भने यो सन् १९९५ र १९८५ मा आएको भूकम्प भन्दा पनि ठूलो हुनेछ । मेक्सिकोमा गएको यसअघिको भूकम्पमा हजारौंको मृत्यु भएको थियो ।

भूकम्पपछि त्यस क्षेत्रमा ५.२ र ५.७ म्याग्निच्युडको बीचमा चार पटक पराकम्प गइसकेको बताइएको छ । हालै मेक्सिकाले सम्भावित समुद्री आँधी हरिकेनका कारण आफ्नो पूर्व तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा रहन भनेको थियो ।- अनलार्इन खबर